२३ माघ, काठमाडाैँ। मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई रू २६ अर्ब ४१ करोड राजस्व तिरेको छ । टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७÷७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कूल आय रू ४४ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रू आठ अर्ब ४७ करोड भएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले रू २१ अर्ब ८० करोड राजस्व प्राप्त गरेको छ ।
टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मङ्सिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ । जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन् ।
त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन् । चालु आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२ दशमलव २४ प्रतिशत छ ।
इन्टरनेट डाटा सेवातर्फ २०७९ मङ्सिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड छ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन् ।
मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ ।