२७ माघ, मोरङ । सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी एवं सुरक्षितरूपमा गर्न आग्रह गरिएको छ ।
अपिल मिडिया प्रालि काठमाडौँ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज विराटनगर-८ स्थित महेन्द्र माविका कक्षा ८, ९ र १० का छात्रछात्रालाई ‘साइबर सुरक्षा सम्बन्धित सचेतना’ कार्यक्रममा उक्त जानकारी दिइएको हो । सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुव्र्यवहार, बेचबिखन, ठगीलगायत कार्यका साथै विभिन्न आपराधिक कार्य हुनसक्ने सम्भावना भएकाले यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी रहेको बताइयो ।
विराटनगर उपमहानगपालिकाका प्रमुख शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको प्रयोग अध्ययन, ज्ञानका कुरा आर्जनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिँदै आफ्नो व्यक्तिगत विवरण दुरुपयोग हुने सम्बन्धमा सचेत हुनुपर्नेमा ध्यान दिन आग्रह गरिन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रमुख प्रभुप्रसाद ढकालले कार्यपत्र पेश गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित उपायका सम्बन्धमा र दुव्र्यवहार भएमा प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा र सहजकर्ता इञ्जिनीयर प्रितम साहले सामाजिक सञ्जालको सही प्रयोग गर्दै अनुमतिविना कसैको फोटो तथा विवरण सार्वजनिक नगर्न आग्रह गरे । विद्यार्थी सुमन राजवंशी र सिसन राईले प्राप्त जानकारीबाट सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि सहयोग पुगेको धारणा राखेका थिए।