२९ माघ, काठमाडाैँ। अहिले सबैभन्दा धेरै चर्चामा रहेको एआई- च्याटजिपिटीले मासिक शुल्क सहितको सेवा (च्याटजिपिटी प्लस) नेपालमा पनि सुरू भएको छ। च्याटजिपिटीको वेभसाइटमा नेपालमा पनि शुल्क सहितको सेवा सुचारू भएको जानकारी दिइएको छ।
सुरूवाति चरणमा च्याटजिपिटीको मासिक शुल्क २० अमेरिकी डलर तोकिएको छ। यो शुल्क तिरेपछि प्रयोगकर्ताहरूले व्यस्त समयमा पनि सहज सेवा पाइने उल्लेख छ। त्यस्तै, उक्त शुल्क तिर्नेहरूले ‘प्रायोरिटी एक्सेस’ अन्तर्गत नयाँ फिचरहरू र च्याटबट क्रिएटरमा पहुँच पाउने ओपनएआईले जानकारी दिएको छ।
केही हप्ता अघि मात्रै च्याटजिपिटीले मासिक शुल्क सहितको परीक्षण अमेरिका र अष्ट्रेलिया लगायत देशमा गरेको थियो भने अहिले नेपालमा पनि यसको बिस्तार भएको छ। प्रयोगकर्ताहरूले पेपल, मास्टरकार्ड र जेसिबि लगायत प्लेटफर्मबाट प्रिमियमको शुल्क तिर्न सक्नेछन्।
शुल्क सहितको सेवा सुरू भएता पनि च्याटजिपिटीको फ्रि भर्सन यथावत् रहने ओपनएआईले प्रष्ट पारेको छ। अहिले मानिसहरूले बिना शुल्क समेत च्याटजिपिटी प्रयोग गरिरहेका छन्।
करीब २ महिना अघि सार्वजनिक भएको च्याटबट अहिले सबैभन्दा धेरै चर्चा भएको एआई हो। कन्टेन्ट क्रिएसनका सबै काम गर्ने भएर यसका प्रयोगकर्ताहरू बढीरहेका छन्। पछिल्लो विवरण अनुसार च्याटजिपिटी प्रयोग गर्ने व्यक्तिहरूको दोश्रो स्थानमा नेपाली रहेको सार्वजनिक भएको थियो।