३ फागुन, एजेन्सी। आइफोन-१५ मा युएसबी टाइप-सी चार्जर पोर्ट उपलब्ध हुने भएको छ। बेलायत लगायत देशहरूले सबै फोन निर्माताहरूले चार्जिङ पोर्टमा एकरूपता ल्याउनु पर्ने नियम पारित गरेपछि एप्पल लाइटनिङ चार्जिङ पोर्टबाट पछि हटेको हो।
आइफोन-१५ सार्वजनिक हुने यकिन मिति थाहा नभएता पनि यसको चार्जरबारे भने केही विवरण लिक भएको छ। चीनको वेबोले आइफोन-१५को चार्जर कस्तो हुने भन्नेबारे विवरण लिक भएको जानकारी दिएको हो।
आइफोन-१५ सिरिजमा एप्पलले भेरिफाइ गरेका चार्जरहरूमा मात्रै सपोर्ट गर्ने उक्त लिकमा उल्लेख गरिएको छ। टाइप-सी पोर्ट उपलब्ध भएता पनि सबै प्रकारका चार्जर आइफोन- १५ मा सपोर्ट नगर्ने प्रारम्भिक दाबी रहेको छ।
यो प्रविधिलाई इन्टिग्रेटेड सर्किट(आइसी)को नाम दिइएको छ। २०१२ मा यो प्रविधि सार्वजनिक भएको थियो। एप्पलले लाइटनिङ चार्जिङ पोर्टमा यो प्रविधि प्रयोग गरिरहेको छ।
तर, यसबारे अहिले नै एप्पलले केही प्रतिक्रिया भने दिएको छैन। यसका साथै आइफोन-१५ को केबलमा द्रूत गतिमा डाटा ट्रान्सफर हुने समेत दाबी गरिएको छ।