१२ फागुन, एजेन्सी। युरोपियन आयोगमा कार्यरत कर्मचारीहरूलाई उनीहरूको फोन र कर्पोरेट डिभाइसहरूबाट टिकटक एप हटाउन निर्देशन दिइएको छ।
आयोगले “डेटाको सुरक्षा र साइबर सुरक्षा बढाउन” यो उपाय लागू गरिरहेको बताएको छ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले प्रयोगकर्ताको डाटा संकलन गरी चिनियाँ सरकारलाई हस्तान्तरण गरेको आरोप लाग्ने गरेको छ। तर, टिकटकले भने यो प्लेटफर्म अन्य सामाजिक सञ्जाल जसरी काम गर्ने बताइरहेको छ।
युरोपेली संघका प्रवक्ता सोन्या गोस्पोडिनोभाले सुरक्षाको कारणले गर्दा युरोपेली आयोगको कार्यकारी शाखा, युरोपेली आयोगको कर्पोरेट व्यवस्थापन बोर्डले यो निर्णय गरेको बताइन्।
यो प्रतिबन्धका अनुसार युरोपियन आयोगका कर्मचारीहरूले आधिकारिक एपहरू इन्स्टल गरिएको व्यक्तिगत डिभाइसमा समेत टिकटक चलाउन नपाउने भएका छन्।
युरोपियन आयोगमा स्थायी र करार गरी करीब ३२ हजार कर्मचारी रहेको बताइएको छ। अब उनीहरूले मार्च १५ भन्दा अगाडी नै आफ्नो डिभाइसबाट टिकटक हटाउनु पर्ने भएको छ।
तोकिएको समयमा उक्त एप नहटाउने कर्मचारीहरूले आयोगको इमेल र स्काइपजस्ता सञ्चार प्रक्रियामा पहुँच नपाउने बताइएको छ।