१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको वेबसाइट र डोमेन ह्याकको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले सर्भर डाउन हुँदा कतिपय गोप्य र संवेदनशील कुरा पनि बाहिर आएको भन्दै यसले साइबर सुरक्षामाथि प्रश्न खडा गरेको बताए ।
‘गत माघ १४ गते नेपाल सरकारको केन्द्रीय डाटा बैंकमा आक्रमण भएको थियो, जसबाट धधध।न्यख।लउ सर्भर करिब पाँच घण्टा अवरुद्ध हुँदा झण्डै एक हजार पाँच सय साइट ह्याक भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई यात्रु अलपत्र पर्ने गरेका छन् । धेरै लामो समयदेखि यस्तो समस्या आइरहेकाले समाधानको विकल्प खोजिनुपर्छ’, उनले भने ।
सांसद राणाका अनुसार त्यसअघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएको थियो । यसअघि विसं २०७४ असार ३ गते राहदानी विभागमा ह्याकरको समस्या आएको थियो । सोही वर्षको साउन २० गते ६० वटा सरकारी साइट अवरुद्ध भएको थियो ।
सरकारी वेबसाइट र डोमेन मात्र नभई निजी क्षेत्रका साइट पनि अवरुद्ध भएको बाहिर आएको भन्दै सांसद राणाले हाल प्रचलनमा रहेको १५ वर्ष पुरानो विद्युतीय कारोबार ऐनको समयसापेक्ष संशोधन जरुरी रहेको बताए ।
उनले सूचना प्रविधिको द्रुतगतिको विकास भइरहेका सन्दर्भमा सरकारले यो ऐनलाई समयसापेक्ष बनाई साइबर सुरक्षालाई मजबुद तुल्याउन पनि ध्यानाकर्षण गराए ।