१४ फागुन, काठमाडाैँ। भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सब्स्क्रिप्सन शुल्क घटाएको छ । करीब ३० देशहरूमा सदस्यका लागि नेटफ्लिक्सले शुल्क घटाएको जानकारी दिइएको छ।
नेटफ्लिक्सले सदस्य बन्नका लागि मानिसहरूलाई आकर्षित गर्न सदस्यता शुल्क घटाएको बताइएको छ।
नेटफ्लिक्सले एसिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वी मुलुकहरूमा सदस्याता घटाएको बिबिसीमा उल्लेख गरिएको छ।
बढ्दो जीवनयापन खर्चका कारण मानिसहरूले अन्य खर्च घटाउँदै गएको र अन्य स्ट्रिमिङ प्लेटफर्महरूले थप प्रतिस्पर्धा थपेपछि नेटफ्लिक्सले सदस्यता शुल्क घटाएको हो।
मलेसिया, इन्डोनेेसिया, थाइल्याण्ड, फिलिपिन्स, क्रोएसिया, भेनेजुएला, केन्या र इरानका मानिसहरूले अब सस्तोमा नै नेटफ्लिक्सको सेवा पाउनेछन्।
सदस्यता शुल्क कति घटाइयो भन्ने पुष्टि नभएता पनि आधासम्म कम भएको बताइएको छ। नेटफ्लिक्सले अमेरिका र युकेमा भने शुल्क नघटाइएको जनाएको छ।
विश्वका १९० भन्दा बढी देशहरूमा नेटफ्लिक्सको सेवा उपलब्ध छ। पछिल्लो समयमा अमेजन, एचबिओ र डिज्ने जस्ता स्ट्रिमिङ प्लेटफर्मले नेटफ्लिक्सको एकछत्र राजलाई चुनाैति दिइरहेका छन्।