१७ फागुन, काठमाडाैँ। नेपाली काँग्रेसका सांसद एवं नेत्री आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् ।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताएन् । उनले नेपाली सेनाको कतिपय डेटा आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् ।
उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबै खाले तथ्याङ्कहरु चोरी हुने खतरा रहेको उल्लेख गरिन् । हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताइन् ।
डा. देउवाले भनिन्, ‘‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’’