२१ फागुन, काठमाडाैँ। गत शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ले राम्रो व्यापार गरिरहेको छ। देशभरका हलमा हाउसफुल भइरहेको फिल्मले अनमोल केसीको ‘२.० छड्के’ लाई चुनाैती दिइरहेको छ।
‘छक्का पञ्जा ४’ हाउसफुल हुँदा ‘२.० छड्के’ भने १०-१२ जना दर्शक भएको शो चलाउन बाध्य भएको छ।
‘छक्का पञ्जा ४’ले राम्रो व्यापार गरिरहँदा भने टिकटक प्रयोगकर्ताहरूले यसमाथि चुनाैति थपिइरहेका छन्। हल पुगेका दर्शकहरूले भिडियो क्लिप टिकटकमा पोस्ट गर्न थालेपछि निर्माण तथा वितरक पक्ष चिन्तित समेत बनेको छ।
‘छक्का पञ्जा ४’मा अभिनय समेत गरेका केदार घिमिरे (माग्ने बुढा)ले ओएसआर र अन्य व्यक्तिहरू उजुरी गर्न साइबर ब्युरोमा जान लागेको बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै टिकटकमा अपलोड गरिएका भिडियोहरू डिलिट गरेर सतर्क रहन अनुरोध समेत गरेका छन्।
पछिल्लो समय हलमा लागेका फिल्मका क्लिक टिकटक सहित स्न्यापच्याटमा समेत पोस्ट हुन थालेपछि निर्माता तथा वितरक चिन्तित भइरहेका छन्।