११ चैत, काठमाडाैँ । मर्स्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङ्दी करिडोरको सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि दुई सय २० केभी बराबर नै छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदिपुर सबस्टेसन आगामी असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका काम भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा पनि दुई सय २० केभी क्षमताका का सबस्टेसन निर्माणाधीन छन् ।
खुदी सबस्टेसन आगामी छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिकरुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।
नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदिपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भइसकेका छन् । उपकरण जडान जारी छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, उत्पन्न भएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।
नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०–१३२ केभी, ३२० एमभीए र २२०–१३२ केभी, १६० एमभीए तथा १३२–३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् ।
खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०–१३२ केभी, १६० एमभीए तथा १३२–३३ केभी, ५० एमभीए र २२०–१३२ केभी, १०० एमभीए तथा १३२–३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरण निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको एक सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।