© 2021-2024
६ वैशाख, एजेन्सी । एप्पलका प्रमुख कार्यकारी टिम कुकले भारतको मुम्बईमा कम्पनीको पहिलो रिटेल स्टोर उद्घाटन गरेका छन् ।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोहरूमा ग्राहक र स्टोरका कर्मचारीहरूबिच कुकले एप्पल स्टोरको हर्षोल्लासका साथ उद्घाटन गरेको देखिएको छ । उनले पसलमा आएका ग्राहकहरूलाई पनि अभिवादन गरे र तिनीहरूमध्ये केहीसँग सेल्फी समेत खिचेका थिए ।
कुक बिहीबार राजधानी दिल्लीमा दोस्रो स्टोरको उद्घाटनमा पनि सहभागी हुनेछन्।
रिपोर्टहरूका अनुसार भारतभरका मानिसहरू उद्घाटन कार्यक्रममा भाग लिन मुम्बई आएका थिए। जसमा स्थानीय संगीत र लोक नृत्य प्रदर्शनहरू गरिएको थियो ।
अहिलेसम्म एप्पलका उत्पादनहरू भारतमा अनलाइन वा रिसेलरहरूको नेटवर्क मार्फतमात्रै उपलब्ध भइरहेका थिए ।
करीब ९५ प्रतिशत एन्ड्रोइड फोनहरू चलाउने भारतीयहरूमा पुग्ने महत्वकांक्षी योजना सहित एप्पल भारतीय बजारमा प्रवेश गरेको बताइएको छ ।
एप्पलले लामो समयदेखि भारतमा भौतिक खुद्रा स्टोर खोल्ने प्रयास गरेको थियो । कोरोना भाइरसको महामारीसँगै एप्पलको योजना पनि पछाडी धकेलिइरहेको थियो ।
सात वर्षपछि टिम कुकले भारत भ्रमण गरेका हुन् । यसअघि २०१६ मा एप्पलका सीईओले अन्तिम पटक भारत भ्रमण गरेका थिए ।
कुकले आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र उप सुचना प्रविधि मन्त्री राजीव चन्द्रशेखरसँग पनि भेट्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ। यसबारेमा मोदीको कार्यालयबाट कुनै आधिकारिक घोषणा भने भएको छैन।