२९ वैशाख, एजेन्सी । एलन मस्कले ट्वीटरको नेतृत्व गर्न नयाँ प्रमुख कार्यकारी (सिइओ) पाएको बताएका छन् । उनले गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटरबाटै यो खबर सार्वजनिक गरेका हुन् ।
मस्कले साइटको नयाँ सिइओको नाम सार्वजनिक भने गरेका छैनन् । यद्यपी, उनी महिला भएको र छ महिनामा काम सुरू गर्ने बताएका छन् । उनी कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारी बन्ने समेत मस्कले बताएका छन् ।
मस्कले ट्विटर खरिद गरेपछि उनी सामाजिक सञ्जालमा मात्रै केन्द्रित भएर अरू कम्पनीमा ध्यान दिन छोडेको भन्दै उनीमाथि नयाँ सिइओ नियुक्त गर्नका लागि दबाब आएको थियो ।
गत वर्ष ट्विटर प्रयोगकर्ताहरूले उनलाई अनलाइन पोलमा पद छोड्नको लागि मतदान गरेका थिए । तर, कसैले पनि त्यस्तो काम चाहँदैन जसले ट्विटरलाई जीवित राख्न सक्छ भन्दै पद आफै सम्हाल्दै आएका थिए ।