© 2021-2024
३ जेठ, दाङ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो ।
डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पुर्याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताए ।
यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराए । उनले दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराए । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।