१६ जेठ, काठमाडाैँ । सरकारले निःशुल्क आपत्कालीन हवाई उद्धारलाई निरन्तरता दिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट पेश गर्दै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गभर्वती तथा सुत्केरी अवस्थाका महिलाको निःशुल्क आपत्कालीन हवाई उद्धार गरिने बताएका छन् ।
यस कार्यक्रमअन्तर्गत विपन्न महिला लक्षित जीविकोपार्जन सुधार उद्यमशीलता विकासका लागि प्राविधिक सहयोगलगायतका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री महतले जनाए ।
साथै सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउने भएको छ । अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायता वितरण गरी कोशी, लुम्बिनी र कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाको व्यवस्था मिलाउन बजेट विनियोजन गरेको अर्थमन्त्री महतले बताए ।