१८ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिएका छन् ।
बुधवार विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा मन्त्री बस्नेतले सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण पठाउन निर्देशन दिए ।
मन्त्री बस्नेतले भने, ‘अहिले देशभरका सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण माग गरेको छु । जहाँ कुन अस्पतालमा कति भेन्टिलेटर छन्, सघन उपचार कक्ष (आईसीयु) कति छन्, कति प्रयोगमा छन्, कति प्रयोगविहीन छन् जस्ता विषयमा जानकारी सर्वसाधारणसम्म पुर्याउनका लागि विवरण माग गरिएको हो ।’
विवरण प्राप्त भएसँगै मन्त्रालयको वेबसाइटमा राखिने र वेबसाइटकै आधारमा सर्वसाधारणले सहजरूपमा नै अस्पतालको प्रयोग गर्न सक्ने कार्यक्रममा मन्त्रीले जानकारी गराएका छन् ।