१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने भएका छन् । बिहीबार भारतमा अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएसँगै भुक्तानी सरल र सहज हुने भएको हो ।
उक्त सम्झाैतामा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेष शुक्लाले हस्ताक्षर गरेका छन् ।
यो सम्झाैता कार्यान्वयन हुँदा नेपाल र भारतमा भुक्तानी प्रणालीमा थप विकल्प थपिनेछन् । अहिलेसम्म नेपाल र भारतबीच कार्ड भुक्तानी प्रणाली मात्रै सञ्चालनमा छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस सम्झाैतासँगै नेपाल र भारतका व्यवसायी, विद्यार्थी, पर्यटक र धार्मिक यात्रुहरूलाई आवश्यक पर्ने क्रसबोर्डर भुक्तानी सहज हुने बताएका छन् ।