© 2021-2024
११ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिकले आगामाी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजना गरेको आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराइन् ।
‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । त्यसैगरी, ‘महानगरले देख्छ’ योजनालाई गौरवको आयोजनाका रुपमा विकास गरी त्यसका लागि रु २० करोड विनियोजन गरिएको छ । कामपाले आफ्नै टेलिभिजन सञ्चालान ल्याउने भएको छ । उक्त विषयलाई आगामी आवको बजेटमा नै समावेश गरिएको छ । टेलिभिजन स्थापनाका लागि महानगरले रु पाँच करोड विनियोजन गरिएको छ ।
त्यसैगरी, कामपाले एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । रु २५ अर्ब ५४ करोडको कूल बजेट ल्याएको कामपाले विगतका वर्षमा जस्तै यस वर्ष पनि भौतिक पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।