२८ श्रावण, काठमाडाैँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर दि टप) प्रतिको आकर्षण बढेको थियो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढेका थिए ।
सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई आकर्षित गर्न सफल भए । विदेशी ‘एप’मा दर्शक झुम्मिँदा सोही प्रकृतिका नेपाली एपहरू आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरले उलेख्य दर्शक पाएनन् ।
आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि सञ्चालन हुन सकेनन् । विदेशी एपमा आफैँद्वारा निर्मित सामग्री (ओरिजिनल कन्टेन्ट) देखियो । जसले दर्शकलाई एपसँग जोड्यो । तर, नेपालमा अधिकांश एपमा चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र थिए । जसलाई हेर्न दर्शकले रुचि देखाएनन् । केही चलचित्रमा दर्शक आकर्षित भएर एपसँग जोडिँदा ‘होल्ड’ गर्ने कन्टेन्ट अभाव देखियो । फलतः दर्शक ‘मुभ्ड’ भए ।
नेपालमा सन् २०१६ देखि सुरू भएको ‘एप सिनेमा घर’ ले सदस्यताको सुविधा हटाएर चलचित्र अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । उनले भने, “नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ । अब भने आफ्नै सामग्री (कन्टेन्ट) ल्याउने तयारीमा छौँ । दर्शकलाई आकर्षित गर्न हामीले चलचित्र ल्याइरहेका छौँ ।”
उनले चलचित्र युट्युबमा नभई एपमा रिलिज गर्नुपर्छ भनेर निर्मातालाई प्रोत्साहित गरिरहेका छन् । किनकि क्षणिक लाभका लागि चलचित्रलाई युट्युबमा प्रदर्शन गर्न अनुमति दिने निर्माताको सङ्ख्या बढी छ । “हामीले एपमा प्रदर्शन भएका चलचित्रको आम्दानीको बारेमा जानकारी गराएपछि अहिले सहज हुँदै आएको छ”, उनले भने ।
आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिरहनुभएका ओमप्रकाश अग्रवालले ‘पाइरेसी’को समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताउनुभयो । “पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैन । रमाइलोका लागि चलचित्र खिच्ने गरेको सुनिन्छ । यससम्बन्धी साक्षरता बढाउनु आवश्यक छ”, उनले भने । नेपालमा युट्युब लोकप्रिय छ । अग्रवालले सञ्चालन गरिरहेको ओएसआर डिजिटलमा चलचित्र धेरै छन् । निःशुल्क नभई सःशुल्क चलचित्र हेर्ने शैलीको विकास गर्नु आवश्यक रहेको उनले बताए ।
“नेपाली चलचित्र निर्माणमा देखिएका भिन्नता, पछिल्लो समय प्रस्तुत गरिने विषयवस्तुलगायत नयाँ प्रविधिका बारेमा हामीले युट्युबमार्फत प्रचार गर्न सफल भयौँ । निःशुल्क दर्शक बढे । ‘भ्यूज’ पनि पाइयो”, अग्रवालले भने । यसलाई नै अन्तिम मान्न नहुने भन्दै विश्व बजारमा जस्तै हामी पनि ओटिटी प्रविधिमा बलियो बन्नुपर्नेमा उनले जोड दिए ।