३२ श्रावण, काठमाडाैँ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना गर्ने भएको छ । यो कन्क्लेभले ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्य राखेको जानकारी दिइएको छ ।
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बुधबार क्यान महासंघ र क्लब बी बिजनेस टेक्नोलोजीबीच भदाै ३१ गतेदेखि कन्क्लेभ गर्ने सम्झाैता भएको जानकारी दिएको छन् ।
सम्झाैतामा हस्ताक्षर गरेपछि महासचिव अधिकारीले नेपालमा ब्लकचेनबारे अधिकांशको गलत बुझाइ रहेको र यसबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न यो कन्क्लेभ आवश्यक रहेको बताए ।
त्यसैगरी, क्लब बी बिजनेस टेक्नोलोजीका तर्फबाट सम्झाैतामा हस्ताक्षर गरेका वराज आचार्यले एकै छानामुनि सरोकारवालाहरू बीच छलफल हुने र यसले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउ पुग्ने दाबी गरेका छन् ।
यस कन्क्लेभमा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनी, विज्ञ, प्रविधि व्यवसायी, शिक्षण संस्था र नीति निर्माता तथा नेपाल सरकारका पनि विभिन्न निकायको सहभागिता रहनेछ।
कार्यक्रममा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रिजेन्टेसनका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनहरू लगायत शीर्षकमा विचार विमर्श हुनेछ ।
यस कन्क्लेभमा सहभागी हुन इच्छुकहरूले भदाै ७ गतेदेखि अनलाइनमार्फत नै नाम दर्ता गराउन सक्ने जानकारी दिइएको छ ।