© 2021-2024
विगत ६ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्जले गत वर्ष झैं यस वर्ष पनि अर्को एउटा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने भएको छ।
स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको छ।
वर्षे पिच्छे फेरिने यसको नेतृत्व र कार्यकारी टिमले सधैँ केही नयाँ र उपयोगी काम गरिरहेका हुन्छन् भने फरक किसिमका कार्यक्रमको माध्यम बाट गैर प्राविधिक मानिसहरूलाई समेत देशको कुना काप्चामा पुगेर प्रविधिको ज्ञान बाँडिरहेका हुन्छन्।
गत वर्षको CodeFest मा विधार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको र केहि हदसम्म यसको योजनाले पनि सार्थकता पाएको कुरालाई आत्मसाथ गर्दै यस वर्ष अझ सुधार गरेर गत वर्ष जस्तै Code for Change ले “कोडफेस्ट” नामक राष्ट्रिय स्तरको ह्याकाथोन गर्ने योजना बनाइरहेको छ। कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो IT ह्यकाथोन हो, जसले आइटिका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ। उक्त कार्यक्रम ७ दिगो विकासका लक्ष्यहरू (SDGs) वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने जानकारी गराइएको छ।
दिगो विकासका लक्ष्यहरु मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरुमा आधारित भएर उक्त सात थिममा यस वर्षको योजना रहेको आयोजक Code for Change का परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त सात थिमहरु क्रमश: गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटि, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसन मा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरि गरिने प्रोजेक्ट हरुलाई छान्ने र विचमा प्रतिष्पर्धा गराई उत्कृस्ट टीमहरुलाई विशेष पुरस्कार सहित विभिन्न ठाउंहरुमा अवसर प्रदान गरिने छ। कोडफेस्ट २०२३ को विजेता टिमले NPR ५०,०००/- सहित थप अन्य पुरस्कार प्राप्त गर्नेछ। यसै गरि पहिलो पदक (1st runner up) विजेताले NPR २५०००/- र दोस्रो पदक (2nd runner-up) बिजेता NPR १५००० /- सहित थप अन्य पुरस्कार प्राप्त गर्नेछन।
साथै Top 3 टिमले निशुल्क होस्टिङ प्राप्त गर्नेछन भने सहभागी सबै टिमलाई होस्टिङ सेवामा ३०% छुट दिइनेछ । राम्रो Idea लाई startup को लागि पनि आवश्यक प्रबन्ध मिलाइनेछ।
CodeFest ह्याकाथोनको प्रारम्भिक तयारि शुरु भई दर्ता प्रक्रिया सम्म अगाडी बढिसकेको छ भने यसमा सबै किसिमका विधार्थीहरुले आफ्नो टिम बनाएर दर्ता गराउन सक्नेछन। एउटा टिममा कम्तीमा २ जना र बढिमा ४ जना सहभागी हुन पाउनेछन, भने सहभागीहरु नेपालको जुनसुकै कलेजमा पनि bachelor अध्ययन गरिरहेको हुनु पर्ने छ।टिम दर्ता शुल्क प्रती टिम NPR २०००/- रहेको छ भने टिम काठमाडौ आइसकेपछी hackathon समयावधिसम्म सम्पुर्ण सहभागीहरुको लागि बस्न र खानाको व्यवस्था आयोजक ले नै गर्ने भएको छ।उक्त ह्याकाथोन नेपालका सातै वटा प्रदेशहरुमा सेप्टेम्बर को १८ देखि २५ सम्म गराइनेछ भने प्रदेशबाट छानिएर आएका ७ टिमको प्रतिष्पर्धा भने देशको राजधानी काठमाण्डौमा अक्टोबार ६,७ र ८ मा आयोजना गरिने शुरुवाती प्रक्षेपण गरिएको छ।
इच्छुक विधार्थीहरुले यहाँ क्लिक गरि आजै आफ्नो टिम दर्ता गराउन सक्नुहुनेछ।