२६ भदाै, काठमाडाैँ । सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरू गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन् । ‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलि २६ भदौदेखि सुरू गर्छाैँ,’ उनले भने ।
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरू हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरूवा भएपछि बस सेवाका विषयमा केही आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।