नवौँ संविधान दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि (फाइल ट्रान्सफर प्रोेटोकल) एफटिपी प्रणालीबाट श्रव्यदृश्य सामग्री सम्प्रेषण गर्न शुरु गरेको छ । लामा भिडियो क्लिपहरु अहिलेको अनलाइन सफ्टवेयरबाट सहज सम्प्रेषणमा बेलाबखत प्राविधिक समस्याहरु देखापर्ने गरेको र क्लिपहरु छोटा भए भन्ने सेवाग्राहीहरुको गुनासालाई ध्यानमा राखेर राससले यो प्रणाली अबलम्वन गरेको हो ।
हाललाई सेवाग्राहीहरुले एफटिपी प्रणाली सँगसँगै पुरानै सफ्टवेयरबाट समेत श्रव्यदृश्य सामग्रीहरु प्राप्त गर्न सक्नेछन् । आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले यो प्रणालीको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले कुनै बेला राससले एफटिपी प्रणालीबाटै समाचार सम्प्रेषण गर्ने गरेको स्मरण गर्नुभयो र भन्नुभयो – “श्रव्यदृश्य सामग्रीको वितरणमा यो प्रणालीले सहजता र प्रभावकारिता ल्याउने छ ।” राससले २०७९ साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको हो । यस नयाँ प्रणालीबाट श्रव्यदृश्य सेवा प्राप्त गर्नका लागि सेवाग्राहीहरूले आ–आफ्नो आधिकारिक इमेलबाट [email protected] मा ‘रिक्वेस्ट’ पठाउन सक्नुहुनेछ ।