एजेन्सी। अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालेह्युमनोइड रोबोट बनाएर प्रयोगगर्न थाल्ने भएको छ । सामाजिक सञ्जालमा एक पोस्टमा मस्कले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा एक पोस्टमा मस्कले यस्तो बताएका हुन् । कम्पनीले आगामी वर्षदेखि ती रोबोट बनाउन थाल्ने जनाइएको छ । कम्पनीले सुरुमा आफैँले ती रोबोट प्रयोग गर्ने अनि सन् २०२६ देखि मात्रै बेच्न थाल्ने जानकारी गराएको छ ।
होन्डा र बोष्टन डाइनामिक्स जस्ता कम्पनीहरूले पनि आ–आफ्नै ह्युमनोइड रोबोट बनाइरहेका छन् । कम्पनीले आगामी वर्ष आन्तरिक प्रयोगका लागि निकै थोरै सङ्ख्यामा रोबोट बनाउने मस्कले माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा भनेका छन् । सन् २०२६ देखि भने अन्य कम्पनीका लागि ठुलो सङ्ख्यामा रोबोटको उत्पादन थालिने बताइएको छ ।
टेस्लाले आफ्नो पछिल्लो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभन्दा एक दिन अघि मात्रै यो घोषणा आएको हो । सोमबार न्यूयोर्कमा नियमित समयको कारोबारमा टेस्लाको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको थियो । मानवका लागि असुरक्षित, बारम्बार दोहोर्याइरहनु पर्ने र दिक्कलाग्दो कामहरू गर्न कम्पनीले स्वचालित ह्युमनोइड रोबोट बनाउन लागेको कम्पनीले बताएको थियो । कम्पनीले यी रोबोट प्रत्येक २० हजार डलरभन्दा कममा बेच्ने मस्कले यसअघि नै भनेका थिए ।
एलन मस्कले सुनाउँदै आएका हरेक योजना धकेलिँदै गएकोमा रोबोट मानवको योजना पनि अर्को वर्ष नै पूरा नहुने सम्भावना पनि छ । सन् २०१९ मै अर्को वर्षदेखि सडकमा ‘सेल्फ ड्राइभिङ’ अर्थात् स्वचालित ट्याक्सी चलाउने घोषणा गरे पनि अहिलेसम्म यो घोषणा कार्यान्वयन भएको छैन ।
विद्युतीय गाडीको माग कम भएको समयमा टेस्लाले कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई), स्वचालित गाडी र रोबोटजस्ता प्रविधिहरूमा ध्यान केन्द्रित गर्दै आएको छ ।