काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन् ।
सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १०० दिनको कार्यसम्पादन सम्झौता अनुसार भदौ मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयक अघि बढ्ने बताएका हुन् ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्मा भदौ मसान्तसम्म पेश गर्ने उनले सुनाए । त्यस्तै दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने पनि जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीसँग दुई वटा करारनामा गर्नुभएको छ । एक सय दिनमा गरिसक्नुपर्ने कामहरूको सूची दिनुभएको छ । मुख्य गरी सञ्चार मन्त्रालयका ६ वटा काम छन् । सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक, दुरसञ्चारसम्बन्धि विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयक (संशोधन गर्नुपर्ने), सरकारी इमेल प्रयोग सम्बन्धी कार्यविधि तयार गरी छलफलका लागि सार्वजनिक गर्ने भनेर सम्झौता गरिएको छ । यी विधेयकहरूमध्ये पनि सामाजिक सञ्जाल सम्बन्धी विधेयक र साइबर सुरक्षा विधेयक भाद्र मसान्तसम्म पुर्याउनुपर्ने भनिएको छ । अरू कामहरू असोज मसान्तसम्म गरिसक्नुपर्दछ ।’
त्यस्तै सरकारी इमेल सञ्चालन सम्बन्धी कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गरिने उनले बताए । मन्त्री गुरुङले एआई सम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गराउने काम पनि दशै अघि नै सम्पन्न हुने उल्लेख गरे ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        