© 2021-2024
काठमाडौं। युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले ‘फिनिक्स करिअर कनेक्शन २०८१’ र ‘युनिभर्सल करिअर लिंक २०८१’ नामक रोजगार मेला आयोजना गरिएको छ।
कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने लगभग ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियो। रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ। मेलाले विद्यार्थीहरूलाई करियर, इन्टर्नशिप, र रोजगारीका अवसरहरू प्राप्त गर्न उत्कृष्ट अवसर प्रदान गरेको तथा यो कलेज र जब्स डाइनामिक्स प्रालिद्वारा गरिएको एक महत्वपूर्ण पहल भएको रोजगार मेलाका संयोजक राजु टण्डनले बताए।
फिनिक्स कलेज अफ म्यानेजमेन्टले बीबीए, बीएचएम, बीआइटी जस्ता स्नातक कार्यक्रम र एमबीए, एमसीएस जस्ता स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ। लिन्कन विश्वविद्यालय, मलेसिया सँगको आवद्धले कलेजलाई उच्च शैक्षिक मानक र विश्वव्यापी सन्दर्भमा मेल खाने पाठ्यक्रम प्रदान गर्न सक्षम छ।
मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए। यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई–कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए।
दुबै कलेजले आफ्ना विशेष संलग्नता र कार्यक्रमको आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राख्दछन्, जसले विद्यार्थीको शैक्षिक र व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजित गरिएको थियो। जसमा बायोडाटा लेखन, अन्तवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परिदृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए।
जब्स डाइनामिक्स प्रा,लि.सन् २००७ मा स्थापित मानव संशाधन परामर्श कम्पनी हो। यस कम्पनीले रोजगारी, व्यवस्थापन परामर्श, तालिम र स्टाफ आउटसोर्सिङ सेवाहरू जस्ता विभिन्न क्षेत्रमा दुबै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा काम गर्दै आएको छ।