काठमाडाैँ। देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाँटालाई डिजिटलाइजेशन गर्दै अब देशभरका धर्मकाँटालाई क्रमशः डिजिटल बनाउँदै लैजाने घोषणा गरिएको हो ।
महासङ्घको व्यवस्थापनमा रहेको धर्मकाँटाको डिजिटल रूपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ । धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।
महासङ्घका अनुसार देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन् । डिजिटलाइजेशनपछि ओभरलोडको तथ्याङ्क र ट्रकको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।
मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । यसबाट व्यवसायीलाई जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित हुने उनको भनाइ थियो ।
महासङ्घले डिजिटल धर्मकाँटाबाट तत्कालै लाभ प्राप्त हुने र अन्य क्षेत्रमा पनि डिजिटल रूपान्तरणलाई प्राथमिकता दिने योजना बनाएको छ ।