काठमाडौँ। गएकाे बुधबारदेखि नै प्राविधिक गडबढिका कारण राेकिएकाे राहदानी वितरणको काम आइतबार पनि ठप्प भएको छ।
राहदानी विभागले आइतबार सूचना जारी गर्दै राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरुमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । विभागका अनुसार भाइरसको कारण आवेदन प्रणालीमा अवरुद्ध भएपछि दैनिक करिब तीन हजारभन्दा बढी सेवाग्राही नेपाल भित्र र बाहिर गरि प्रभावित भएका छन् । विभागमा करिब १५ सय तथा जिल्लाहरुमा र बाहिर गरि १५ सयभन्दा बढी नेपालीहरुले राहदानीको आवेदन दिन्छन् ।
हिजोदेखि आंशिक रुपमा काम शुरू भएको र पूर्ण रूपमा काम शुरू हुन एक, दुई हप्तासम्म लाग्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार यसअघि नै फारम भरेका सेवाग्राहीलाई राहदानी वितरणको काम शुरू भइसकेको छ ।
एक, दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ । अत्यावश्यक पर्ने सेवाग्राहीका लागि क्रमशः सेवा उपलब्ध गराउन शुरू भइसकेको पनि विभागको भनाइ छ ।
राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दैस्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागले जनाएको छ ।
विभागले आवेदकको सबै तथ्याङ्क पूर्ण रुपमा सुरक्षित रहेको प्रष्ट पारेको छ । राहदानी वितरणको काम ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।