काठमाडौं। नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।
कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा उक्त सर्भिस सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । नयाँ सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरबाट विश्वस्तरीय सेवा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय सांसद डा. विनोद चौधरीले गरेका छन् ।
यो काठमाडौँ भ्यालीमा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो । सीजी मोटर्सका अनुसार च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौँमा अब चारवटा सेवा केन्द्र पुगेका छन् ।
२२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको छ ।
साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ । हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको सङ्ख्या राखेको छ र थप एक सय भन्दा धेरै स्थानमा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ ।