काठमाडौँ। नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरुमध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै छन्।
एसिया प्यासिफिक क्षेत्रका आईटी कम्पनीको छाता संस्थाहरू सदस्य रहेको उक्त अलाइन्सको २०२४ को अवार्डका लागि आईएमएस सफ्टवेयर, त्रिलोक्य टेक्नोलोजी, ईकागजपत्र र अलपास टेक्नोलोजीले सहभागिता जनाउन लागेका हुन् ।
एपिक्टा अवार्ड्स एसिया-प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        