काठमाडौँ। नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ।
पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गतेदेखि २जी/४जी मोबाइल सेवा सञ्चालन गरिएको हो। जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।
दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ।