काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् ।
उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छन् । काठमाडौँमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदै आएको बताइन् ।
उनले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गरिन् ।
‘डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ’, सचिव अर्यालले भनिन्, ‘अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।’ डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सचिव उनले जानकारी दिइन् । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताइन् ।