काठमाडौं। सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका–३ घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भएका १९ वर्षीय विपिन मगराती र नुवाकोटको म्यागङ गाउँपालिका–२ कि २१ वर्षीया मधु तामाङ छन् ।
फेसबुकमा विज्ञापन गरेर उनीहरुले क्युआरमा एडभान्स बापत रकम पठाउन लगाएर आइफोन डेलिभरी नगरीकन सम्पर्कविहीन हुने गरेका थिए । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।