काठमाडौँ। कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवा सुरू गरेको छ।
बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्युआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।
सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्युआर र यसको इन्ट्रोपेरेवल क्युआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ । यस्तै, नेपालपे क्युआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै Alipay, AlipayHK, Tinaba, MPay, Touch’n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, KakaoPay, Naver Pay, Toss Pay र TrueMoney बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ।