काठमाडौँ। सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण (दर्ता) हुन तथा नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) तोक्न भनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ ।
निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।
निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ । यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानी सम्बन्धी प्रावधानहरू समावेश छन्। मन्त्रालयका अनुसार ‘यो कदमले अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत’ गर्नेछ।
निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताहरूको गोपनीयता तथा डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधानहरू समावेश छन्।छ।