काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (८ महिनामा) २१ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन नेपाल आयात भएको छ।
गत वर्षको तुलनामा यो वर्ष स्मार्टफोन आयातमा वृद्धि भएको भन्सार विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बराबरका १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन नेपाल भित्रिएका थिए। तर, चालु वर्षमा आयातको परिमाण १४ लाख ७ हजार ७८ थान पुग्दै २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ नाघेको छ।
स्मार्टफोन आयातमा वृद्धिसँगै सरकारको राजस्व संकलन पनि बढेको छ। गत वर्ष स्मार्टफोन आयातबाट ३ अर्ब ६० करोड ७५ लाख रुपैयाँ संकलन भएको थियो। यस वर्ष सोही अवधिमा ४ अर्ब ८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार विभागका अनुसार, आठ महिनामा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोन सेट नेपाल भित्रिएका छन्। यसबाट २८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
नेपालमा इन्टरनेटको पहुँच वृद्धि, डिजिटल कारोबारको बढ्दो प्रयोग, र प्रविधिमा युवापुस्ताको आकर्षण ले स्मार्टफोनको माग उच्च रहेको देखिन्छ। आयातको यस्तो प्रवृत्तिले नेपालमा प्रविधिको प्रयोग तीव्र गतिमा अगाडि बढिरहेको पुष्टि गर्छ।