काठमाडौं। आगामी साउनमा काठमाडौंले खुला स्रोत प्रविधि क्षेत्रमा इतिहास रच्न गइरहेको छ। एसिया क्षेत्रकै सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्ये एक, युबुकन एसिया २०२५, काठमाडौंमा आयोजना हुने भएको हो।
विश्वभरका प्रविधि विज्ञहरूको सहभागिता रहने सम्मेलनमा सिलिकन भ्याली, युरोप र एसियाका प्रमुख प्रविधि केन्द्रहरूबाट आएका २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकहरूले विविध सत्र सञ्चालन गर्नेछन्। कृत्रिम बुद्धिमत्ता (AI), क्लाउड पूर्वाधार, साइबर सुरक्षा, खुला स्रोत सफ्टवेयर विकास, डेटा प्रविधि र आधुनिक वेब प्रविधि जस्ता विषयहरू समेटिने गरी ६ वटा विषयगत ट्रयाक तय गरिएको छ।
सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार, हालसम्म १५ भन्दा बढी देशका ७० भन्दा बढी प्रस्तुतीकरण प्रस्तावहरू प्राप्त भइसकेका छन्। नेपाली प्रविधि समुदायको सहभागिता अझ सशक्त बनाउन अतिरिक्त प्रयास भइरहेको उनले बताए।
यो नेपालमा पहिलो पटक यति ठूलो अन्तर्राष्ट्रिय स्तरको खुला स्रोत प्रविधि सम्मेलन हुन लागेको हो। सम्मेलनको घोषणा २०२५ मार्च ३० मा सेंट जेवियर कलेज, काठमाडौंमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँग गरिएको बैठकमार्फत गरिएको थियो।
युबुकन एसिया २०२५ मा ३० मिनेटका प्राविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) तथा छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहनेछन्। साथै, सहभागीहरूलाई अनुभव साट्न ‘मेन्टोरशिप राउन्ड टेबल’ तथा अन्य अतिरिक्त गतिविधिहरूमा पनि सहभागिता जनाउने अवसर प्रदान गरिनेछ।