हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकामा टेलिफोन सेवा एक महिनादेखि बन्द हुँदा सञ्चार सम्पर्क टुटिएको छ।
सर्केगाड–५ को कुति गाउँस्थित टावर बिग्रिएपछि वडा नं ४, ५ र ६ का बासिन्दा, स्वास्थ्यकर्मी र सरकारी कार्यालयहरू सञ्चारविहीन बनेका छन्।
स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीका अनुसार फोनमा नेटवर्क देखिए पनि न फोन लाग्छ, न सन्देश जान्छ। खोप तथा आपतकालीन सेवामा समेत असर परेको छ।
दुर्गम क्षेत्रमा इन्टरनेट सेवा नहुँदा फोन नै एक मात्र माध्यम भएको र सेवा अवरुद्ध हुँदा समस्या झन् जटिल बनेको उनले बताए। स्थानीय गेटबहादुर थापाका अनुसार सरकारी र व्यक्तिगत सम्पर्क सम्पूर्ण रूपमा प्रभावित बनेको छ।
दूरसञ्चार कार्यालय सिमकोटका निमित्त प्रमुख रञ्जीन लामाले केही दिनअघिमात्र समस्या देखिएको दाबी गर्दै आवश्यक परे प्राविधिक पठाइने जानकारी दिएका छन्।