म्याग्दी। राहुघाट बेसिनमा निर्माणाधीन चार जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न निर्माण गरिएको प्रसारण लाइन प्राविधिक रूपमा त्रुटिपूर्ण देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङसम्म २५ किमी लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ। तर, जलविद्युत् कम्पनीहरूले मापदण्ड विपरीत सो लाइनमुनि २२० केभी क्षमताको वैकल्पिक लाइन बनाएका छन्, जसको तार दूरी मापदण्ड (४.५ मिटर)भन्दा कम छ।
डाँडाखेत–राहुघाट प्रसारण लाइन प्रमुख रोशन अग्रवालले जलविद्युत् कम्पनीहरूले समन्वय नगरी जथाभावी टावर बनाएको र मापदण्ड उल्लंघन गरेको बताए।
सन् २०२१ देखि निर्माण सुरू भएको लाइन ढिलाइ हुँदा १३०.८ मेगावाट क्षमताका चिमखोला, अपर राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला आयोजनाहरूले वैकल्पिक रूपमा दाना–खुर्कोट लाइन बनाएका थिए।
तुदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमति अनुसार २२० केभी लाइन माथि लैजाने टावर निर्माणको तयारी भइरहेको जानकारी दिए।