काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता रकम १५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ।
प्राधिकरणद्वारा सार्वजनिक सूचनामा ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, डिस मिडिया नेटवर्क, मर्कन्टाइल कम्युनिकेसन्स, वेबसर्फर नेपाल लगायतका कम्पनीहरूले विगत केही वर्षदेखि सरकार तथा प्राधिकरणमा बुझाउनु पर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा अन्य रकम समयमा नबुझाएको उल्लेख छ।
प्राधिकरणले पटक-पटक पत्राचार, इमेल तथा सूचना प्रकाशनमार्फत जानकारी दिँदा पनि ती कम्पनीहरूले आवश्यक विवरण र रकम नबुझाएको जनाएको छ। १५ दिनभित्र विवरण र बक्यौता बुझाउन नसकेमा दूरसञ्चार ऐन, २०५३ अनुसार कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ।