काठमाडौं। सूचना प्रविधिको दिग्गज कम्पनी माइक्रोसफ्टले हालै करिब ६ हजार कर्मचारी कटौती गरेको छ। ब्लुम्बर्गका अनुसार, कटौतीमा परेका मध्ये ४० प्रतिशत सफ्टवेयर इन्जिनियरहरू छन्।
विशेषगरी, एआई टूलको विकास र प्रयोगमा संलग्न रहेका इन्जिनियरहरू नै बढी प्रभावित भएका छन्। कम्पनीले केही महिनाअघि नै आफ्ना कर्मचारीहरूलाई ओपनएआईका च्याटबोट प्रयोग गरी कोड लेख्न निर्देशन दिएको थियो।
तर, अब त्यही एआई प्रणालीमा निर्भरता बढ्दा उनीहरूले नै जागिर गुमाउनु परेको हो। माइक्रोसफ्टका सीईओ सत्य नडेलाका अनुसार, कम्पनीका केही परियोजनामा एआईले करिब ६५ प्रतिशतसम्म कोड लेख्ने कार्य गरिरहेको छ।
कर्मचारी कटौतीको असर प्राविधिक कार्यक्रम व्यवस्थापकदेखि एआई निर्देशकसम्म पुगेको छ। एआई निर्देशक ग्याब्रिएला डी क्विरोजले पनि आफू कटौतीमा परेको जानकारी लिंक्डइनमार्फत सार्वजनिक गरेकी छन्।
यो कटौतीबाट माइक्रोसफ्टको कम्पनी पुनर्संरचना र एआईमा निर्भर कार्यशैली झन स्पष्ट भएको विश्लेषण गरिएको छ।