काठमाडौं। अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ले बनाएको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ।
अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली मानिएको यो मानवरहित रकेट मंगलबार बेलुकी टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। तर उडानपछि केही समयमा नै रकेट अनियन्त्रित बनेको र अन्ततः हिन्द महासागरमा खस्नु अगाडि तीव्र गतिमा टुक्रा–टुक्रा भएको स्पेसएक्सले जनाएको छ। यो स्टारशिपको नवौं परीक्षण उडान थियो।
मङ्गल ग्रहमा उपनिवेश बसाल्ने एलन मस्कको दीर्घकालीन योजनाका लागि यो रकेटलाई निकै महत्त्वपूर्ण मानिएको थियो। यसअघि गरिएको दुई परीक्षण उडानहरू पनि असफल भएका थिए।
यद्यपि, कम्पनीले सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको सन्देशमा यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न सघाउने बताएको छ।