काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले १० वटा सेवा अनलाइनबाट उपलब्ध गराउने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई झन्झटमुक्त बनाउन अनलाइन सेवा सुरु गर्न लागिएको हो।
ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेको हुँदा अब रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योग आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्र प्रतिलिपिका फाराम अनलाइनमार्फत भर्न सकिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
देशभरबाट वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीले सेवा लिने भएकाले व्यवस्थापन सहज बनाउन प्रविधिको अधिकतम प्रयोग गरिएको जनाएको छ। यसअघि बन्द गरिएको अनलाइन सेवा पनि अब पुनः सुचारु हुनेछ।