काठमाडौँ। कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे सँगको सहकार्यमा कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो।
यस सेवा अन्तर्गत ग्राहकहरूले अब कुमारी बैंकको मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ प्रयोग गरी सजिलै भर्चुअल क्रेडिट कार्ड सुचारु गर्न सक्छन्।
के हो भर्चुअल क्रेडिट कार्ड?
भर्चुअल क्रेडिट कार्ड भन्नाले भौतिक कार्डको आवश्यकता नरहेको डिजिटल माध्यमद्वारा जारी गरिने कार्ड हो। यस कार्डलाई मोबाइल एपबाट सजिलै सक्रिय गरी, फोनपेका क्यूआर मर्चेन्टहरूमा डिजिटल भुक्तानी गर्न सकिन्छ।
यस सेवामार्फत ग्राहकहरूले अधिकतम ४५ दिनसम्म ब्याज मुक्त भुक्तानीको सुविधा लिन सक्नेछन् (सर्तहरू लागू हुनेछन्)। साथै, सेटलमेन्टका लागि १० प्रतिशत वा १०० प्रतिशत रकम तिर्ने विकल्प पनि उपलब्ध छ।
२४ वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ। हाल बैंकले ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक र सुरक्षित सेवा प्रदान गरिरहेको छ।