काठमाडौं। नेपाल टेलिकमले जीएसएम पोस्टपेड सेवाका ग्राहकका लागि दोहोरिने (स्वचालित रिन्युअल हुने) सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ। नयाँ प्रणाली भोलिदेखि लागू हुने टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार, नयाँ सुविधा अन्तर्गत जीएसएम पोस्टपेडका प्रयोगकर्ताले प्रयोग गरिरहेको प्याकेजको समयावधि सकिएपछि स्वतः सोही प्याकेज पुनः खरिद (रिन्यू) हुने व्यवस्था मिलाइएको छ।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरका रूपमा लिएर यो प्रणाली लागू गरिएको हो। पहिलो पटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेट (प्रयोग अवधिअनुसार) रकम काटिने र त्यसपछि हरेक महिनाको सोही मितिमा स्वतः रिन्यू हुने व्यवस्था लागू गरिएको छ।
टेलिकमले भनेको छ, “ग्राहकको बिल हिसाब गर्दा १५ तारिखमा प्याकेज शुल्क तिर्न पर्याप्त क्रेडिट लिमिट नभएमा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्छ। भुक्तानी गरेपछि सेवा पुनः सक्रिय हुनेछ।”
त्यस्तै, ग्राहकले प्याकेजमा उपलब्ध डाटा वा एसएमएस सकिएमा अन्य डाटा वा एसएमएस प्याकेज पनि अलग्गै खरिद गर्न सक्नेछन्। साथै, चाहना अनुसार बढी वा कम सुविधासहितका अन्य प्याकेजमा स्विच गर्न वा साबिकका सामान्य प्याकेजहरू (नर्मल SMS/डाटा प्याकेज) प्रयोग गर्न पनि सकिनेछ।
नेपाल टेलिकमले यो सेवा मार्फत पोस्टपेड प्रयोगकर्तालाई थप सजिलो र स्वचालित डिजिटल अनुभव दिने उद्देश्य राखेको जनाएको छ।