काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकहरूलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यका साथ मधेस प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ।
यसै क्रममा कम्पनीले फागुन १४ गते बिहीबार वीरगञ्जको आदर्शनगर र फागुन १५ गते शुक्रबार जनकपुरको शिवचोकस्थित अर्विट मलमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ।
यी केन्द्रहरूको स्थापनासँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताहरूले अब आफ्नै क्षेत्रमा आधिकारिक र गुणस्तरीय प्राविधिक सेवा प्राप्त गर्न सक्नेछन्।
यी नयाँ सर्भिस सेन्टरहरूमार्फत शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन, हेडफोन लगायत विभिन्न आइओटी उपकरणहरूको मर्मत र प्राविधिक जाँच गरिनेछ।
केन्द्रमा प्रयोग गरिने सबै स्पेयर पार्ट्सहरू पूर्ण रूपमा आधिकारिक (जेनुइन) हुने कम्पनीले सुनिश्चित गरेको छ। यी केन्द्रहरूको व्यवस्थापन रमेश कर्पअन्तर्गतको कम्पनी टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ, जसले नेपालभर शाओमीका लागि आधिकारिक सेवा प्रदान गर्दै आएको छ।
नयाँ सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष छुट र अफरहरू पनि सार्वजनिक गरेको छ। सञ्चालनमा आएको पहिलो एक महिनासम्म ग्राहकहरूले सबै उपकरणमा निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेडको सुविधा पाउनेछन्।
साथै, वारेन्टी बाहिर रहेका स्पेयर पार्ट्स र मर्मत सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ भने वारेन्टी बाहिरका स्पेयर पार्ट्स फेर्दा कुनै पनि अतिरिक्त सर्भिस शुल्क नलाग्ने व्यवस्था गरिएको छ। दुवै केन्द्रमा दक्ष तथा तालिमप्राप्त प्राविधिक टोलीले गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ।



