काठमाडौँ। नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेट सेवामा शनिबार दिउँसो केही समय अवरोध उत्पन्न भएको छ ।
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा एक्कासि इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रयोगकर्ताहरू समस्यामा परेका थिए ।
नेपाल टेलिकमका अनुसार इन्टरनेट सेवा प्रवाहका लागि जावलाखेलमा जडान गरिएका ‘कोर राउटर’हरूमा अचानक प्राविधिक समस्या उत्पन्न भएको थियो । ती राउटरहरू ‘डाउन’ हुनासाथ मोबाइल डाटा र फाइबर इन्टरनेट दुवैमा अवरोध देखिएको कम्पनीले जनाएको छ ।
समस्या देखिने बित्तिकै टेलिकमका प्राविधिक विशेषज्ञहरूको टोली मर्मतमा खटिएको थियो । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार अहिले उक्त प्राविधिक समस्या समाधान भइसकेको छ भने देशभर टेलिकमको इन्टरनेट सेवा पुनः सुचारु भइसकेको छ ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सेवामा आएको अवरोधका कारण ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।



