विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएका छन् ।
राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन भन्दै निर्देशन जारी गरेको छ ।
‘नेपालमा विदेशी मुद्राका रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा त्यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र स्वदेशी पुँजी पलायन हुने हुन्छ,’ निर्देशनमा भनिएको छ, ‘यसकारण त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरे गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैका लागि जानकारी गराइन्छ ।’ – सुचनामा उल्लेख छ।
पछिल्ला दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीको कारोबार/प्रयोग गर्ने तथा तीसँग सम्बद्ध हाइपर फन्ड जस्ता कोषमा लगानी गर्ने र जोसियन, क्राउड वान, सोलम्यास ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आबद्ध हुन प्रोत्साहन गर्ने/गराउन गरेको जानकारी प्राप्त भएकाले राष्ट्र बैंकको ध्यानाकर्षण भएको पनि सूचनामा उल्लेख छ ।
स्रोतका अनुसार विदेशमा बस्ने नेपाली क्रिप्टोकरेन्सीलगायत गैरकानुनी काममा आबद्ध भएको सूचना राष्ट्र बैंकलाई प्राप्त भएको छ । उक्त कारोबारबाट कमाएको धन पनि अवैधानिक हुने भएकाले त्यसो नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्य नगर्न/नगराउन निर्देशन दिएको थियो ।