आफ्ना अनेकौं विशेषताहरुले सम्पूर्ण हिन्दूजगतलाई स्वधर्मनिष्ठा, पारस्परिक सद्भावना, आत्मीयता र विश्ववन्धुत्वको प्रेरणा प्रदान गर्दै दिव्यताको प्रतीकका रुपमा अवस्थित पावन पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४४ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा पशुपति क्षेत्र विकास कोष स्थापना भई आफ्नो कर्तव्यपथमा क्रियाशील रहेको छ ।
पशुपति क्षेत्रमा देश तथा विदेश बाट विभिन्न धर्मावालाम्बिहरु दर्शनका लागी आउने गर्दछन्, केही घुम्न तथा मनोरञ्जनका लागी आउँछन् भने प्राय: दर्शन भक्तिका लागी आउने गर्छन्। धार्मिक सहिष्णुता मानेर आउने जोसुकै धर्मावलम्बिहरुले यस क्षेत्रमा अवस्थित मठ- मन्दिरहरूमा भेटी चढाउने गर्दछन् जसको अव्यवस्थित अवस्थाका कारण पशुपति क्षेत्र विकास कोषले नेपाल इन्भेस्टमेन्ट बैङ्क सँगको संयोजनमा चढाएको रकमलाई बैंकिंग प्रणाली द्वारा व्यवस्थापन गर्दै आएको थियो।
बिस्तारै देशका विभिन्न क्षेत्रहरू डिजिटल हुँदै जाँदा धर्मावालाम्विहरुले पनि नगद नबोक्ने र डोनेसन सङ्कलन पेटिका बाट सङ्कलन भएको रकम व्यवस्थापनमा समेत असहजता उत्पन्न हुने भएकाले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रका विभिन्न ठाउँहरूमा फोन पे को QR को व्यवस्था गरिदिएको छ जसले गर्दा दाताहरूलाई समेत उक्त रकमको दुरुपयोगको डर तथा शङ्का हट्नुका साथै व्यवस्थापनको झन्झट पनि कम भएको छ।
पशुपति क्षेत्रमा कुनै मेलाको समय बाहेक पनि दैनिक हजारौँ भक्तहरू जाने गर्दछन् त्यसमध्ये सयौँले मन्दिरका लागी दान गर्न चाहन्छन् तर दुरुपयोगको डर र अव्यवास्थित प्रणालीका कारण सयौँ दाताहरू दान नगर्न बाध्य हुन्थे जसलाई यो डिजिटल दानको व्यवस्थाले सहजता प्रदान गरेको भक्तजनहरू बताउँछन्।
देशका विभिन्न क्षेत्रहरू बिस्तारै डिजिटल बन्दै गइरहेको आजको परिपेक्षमा मठ – मन्दिरहरूमा पनि यस्तो व्यवस्थाको सुरु हुनु सम्मानयोग्य कुरा हो, पशुपतिमा जस्तै अरू पनि केही धार्मिक स्थानहरूमा यस्तो व्यवस्था सुरु भइसके पनि सबै ठाउँमा भने पुगिसकेको छैन, आशा गरौँ सबै खाले क्षेत्रहरू अझ द्रुत गतिमा डिजिटल हुनेछन्।