काठमाण्डौ महानगरको मेयर पदका लागि उम्मेदवारी दिने तयारीमा रहेका चर्चित र्यापर तथा इन्जिनियर बालेन शाहले चुनावी रणनिति अनुरुप प्रविधिको प्रयोगमा पनि आफ्नो ध्यान पुर्याउन सफल भएका छन्।
चुनावी प्रचारका लागि विभिन्न व्यक्तित्व तथा संघ संगठन हरुसँग छलफल र भेटघाटलाई बाक्लो बनाउंदै गएका र्यापर तथा इन्जिनियर बालेन शाहले साम, दाम, दण्ड, भेदको रणनिति अपनाउंदै आएका छन्। यसै अनुरुप सिभिल तथा स्ट्रक्चरल इञ्जिनियरिङ् मा अनुभव बटुलिसकेका उनीले प्रविधिको क्षेत्रलाई पनि समेट्ने गरि एउटा सानो क्षप्यास्त्र प्रहार गरेको बुझ्न सकिन्छ।
निर्वाचन नजिकिंदै जाँदा मानव संसाधन तथा आर्थिक सहयोगको महत्व बुझेर उम्मेदवारी दिने तयारीमा रहेका उनले व्यक्तिगत वेबसाइट विकास गरेका छन्। वेबसाइटमा गएर जोसुकैले उनका बारेमा बुझ्न सक्नेछन। यसका अलावा सहकार्यको सम्भावना रहंदा विभिन्न तरिकाले सहकार्यका लागि प्रस्ताब पठाउनुका साथै सकेको आर्थिक सहयोग समेत गर्न सक्नेछन।
नेपालका मेयर त परको कुरा धेरै जसो पुर्व प्रधानमन्त्री तथा साम्सदहरुकै कुनै व्यक्तिगत वेबसाइट छैन जसले गर्दा उनीहरुको दैनिक क्रियाकलापहरुको जानकारी नहुँदा पारदर्शितामा पटक पटक प्रश्न पनि उठ्दै आएका छन्।
जानकारीका लागि अन्य फेसबुक, ट्विट्टर जस्ता सामाजिक संजाल भएता पनि वेबसाइटमा जस्तो सुसुचित ढाँचामा उक्त जानकारीहरु पाइंदैन जसले गर्दा नागरिकहरुले आफ्ना प्रतिनिधिहरुको पारदर्शिता लाई नजिक बाट नियाल्न सक्दैनन्।
यसै समस्यालाई मध्यनजर गर्दै निर्वाचन सम्म नपुग्दै ईन्जिनियर बालेनले चुनावी रणनिति अनुरुप प्रविधिको प्रयोग गर्दै आफ्नो वेबसाइट विकासको कार्यलाई महत्व दिएको पाइन्छ। उनको वेबसाइटमा गृहपृष्ठ, बालें स्टोरी, जोइन द टिम, मिडिया, सम्पर्क तथा डोनेटका मेनुहरु देख्न सकिन्छ भने उनका बारेमा विभिन्न भिडियो सामाग्रीहरु पनि देख्न सकिन्छ।