युथ इन सोसल चेन्ज नामक गैर-नाफामुलक संस्थाबाट संचालित एक परियोजना Code for Change विगत ५ वर्ष देखि प्रविधिको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्राविधिक क्षेत्रमा योगदान पुर्याउंदै आएको छ।
स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै IT विद्यार्थीहरू र उद्योग व्यवसायीहरूलाई सँगै ल्याउने उद्देश्यका साथ देशका विभिन्न कलेजहरूका विद्यार्थीहरूसँग मिलेर सिक्ने सिकाउने प्रक्रियालाई निरन्तरता दिइरहेको छ।
Code for Change – Kathmandu ले वर्ष २०२१/२२ का लागि कार्यकारी, कलेज प्रतिनिधि तथा सदस्यताका लागि खुलाइएको फारममा ५०० भन्दा बढी आवेदन परेपछि विशेष अन्तर्वार्ताको माध्यमबाट १ प्रमुख १ उपप्रमुख सहित १३ कार्यकारी समिति गठन गरेको थियो भने विभिन्न फरक कलेजहरु बाट २८ जना कलेज प्रतिनिधिहरु र १५० जना साधारण सदस्यहरु छनौट गरेको थियो।
यस वर्ष Code for Change – Kathmandu ले कलेज प्रतिनिधि तथा साधारण सदस्यहरुको प्रस्ताव माथि छलफल गर्दै आफ्नो शिक्षण, सिकाइ मोडालिटी परिवर्तन गरि कम्युनिटी मोडेल प्रस्तुत गरेको छ जुन मोडेल Code for Change – Kathmandu का लागि आफैमा एक नयाँ अभ्यास हुनेछ। उक्त कम्युनिटी मोडेल मार्फत हाल ग्राफिक डिजाइनिङ्ग र वेब डेभलपमेन्ट गरि दुइ धारहरु छुट्याइएको छ।
Code for Change – Kathmandu व्यक्तिमा प्राविधिक मात्र नभई गैर-प्राविधिक सिप पनि हुनुपर्ने कुरामा विश्वास गर्ने भन्दै ग्राफिक र वेबमा रुचि नभएका लाई गैर-प्राविधिक सीप सिकाउने समेत व्यवस्था गरिदिने Code for Change – Kathmandu का प्रमुख कृष्ण पोखरेलले टेक कागजका संवाददातालाई बताउनु भएको छ।